स्तरोन्नतिको पर्खाइमा सहिदमार्ग



गलकोट । बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ ।

सङ्घीय सरकारले समयमै बजेट व्यवस्थापन गर्न नसक्दा अहिले मुख्य सडकका रूपमा रहेको सहिदमार्गको काम हुन नसकेको हो । ताराखोला गाउँपालिकाको शाखा सडकका रूपमा रहेको त्रिशूलचोक हुँदै माझखर्क सडक कालोपत्र भइसक्दा पनि गाउँपालिकाको मुख्य सडक भने स्तरोन्नतिसमेत हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।


गाउँपालिका स्थापनासँगै गाउँपालिकाको मध्यभागलाई समेटिएको सहिदमार्गलाई गाउँपालिकाको मुख्य सडकका रूपमा लिइए पनि शाखा त्रिशूलचोकबाट माझखर्क र हटिया हुँदै गाईघाट झरनातर्फ सडक कालोपत्र हुन लाग्दा समेत मुख्य सडक कालोपत्रका लागि ठेक्कासमेत खुल्न सकेको छैन ।

सडक कालोपत्र गर्ने गरी सङ्घीय सरकार तथा एसियाली विकास बैंकले पटक–पटक सडकको सर्भे गरे पनि सडक कालोपत्रका लागि हालसम्म ठेक्का प्रक्रियामै जान नसकेको हो । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोलामा यसै वर्ष पहिलोपटक कालोपत्र सडक पुगे पनि उक्त सडकले ताराखोला गाउँपालिकाको एउटा गाउँलाई मात्रै लाभ पुग्ने छ ।

ताराखोला गाउँपालिकाको त्रिशूलचोकबाट माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलोपटक सडक कालोपत्र भएको छ । तर गाउँपालिकाले मुख्य सडकको रूपमा परिकल्पना गरेको रिजालचोकबाट ताराखोला गाउँसम्मको झन्डै ३० किलोमिटर सडक निर्माण नहुँदा यात्रुलाई समस्या भइरहेको छ । गाउँपालिकाले मुख्य सडकका रूपमा परिकल्पना गरेको सडक ओझेलमा पर्दा सिङ्गो ताराखोला गाउँपालिकावासीलाई मर्का परेको बताएको छ।

गाउँपालिकामानै पहिलोपटक ताराखोला–सरपाण्डी–खरीखोला सडक कालोपत्र भए पनि ताराखोला गाउँपालिकालाई समेटिएको मुख्य सडक कालोपत्रका लागि आवश्यक पहलकदमी भइरहेको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताए । उनका अनुसार गाउँपालिकाको बजेटले सहिदमार्ग कालोपत्र गर्न नसक्ने भन्दै सङ्घीय सरकार र एसियाली विसका बैंकमार्फत सडक कालोपत्र गर्न खोजिए पनि ठेक्का प्रक्रियामा जान केही ढिलाइ भएको छ । 

“गाउँपालिकामा पहिलोपटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद् क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ”, अध्यक्ष विकले भने, “अब गलकोटबाट ताराखोलातर्फ समेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकबाट ताराखोलाको केन्द्रतर्फ आउने सहिदमार्ग आगामी वर्षमा कालोपत्रको काम थाल्ने गरी एसियाली विकास बैंकमार्फत डिपिआर भएर ठेक्कामा जाने छ ।

विकका अनुसार हटिया–ताराखोला, सरपाण्डी ताराखोला र सहिदमार्गका तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् । सहिदमार्ग लामो र ठूलो सडक भएकाले करोडौँ बजेट लाग्ने भएकाले सडक कालोपत्रमा जान केही ढिलाइ भएको हो । 

गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको रिजालचोकबाट भात खाने डाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडक जसलाई गाउँपालिकाले सहिद मार्गको नामकरण गरेको छ उक्त सडकको भने काम अघि बढ्न सकेको छैन । गाउँपालिकाले ठाउँ–ठाउँमा स्तरोन्नतिको काम गरे पनि बर्खामा सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने गरेको यात्रुको गुनासो छ ।

जसमध्ये अहिले ताराखोला सरपाण्डी खरीखोला सडकको छ किमी सडक कालोपत्र भइसकेको छ भने गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत कालोपत्रको चरणमा पुगेको छ । गाउँपालिकाको मुख्य सडकका रूपमा रहेको सहिदमार्ग भने कालोपत्रका लागि सङ्घीय सरकारले एसियाली विकास बैंकको सहयोगमा ठेक्का आह्वान नगर्दा समस्या भएको छ ।