कृषि उत्पादन बढाउन अर्घाखाँचीमा निःशुल्क माटो परीक्षण सुरु



सन्धिखर्क (अर्घाखाँची) । अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले  डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ ।

डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका छन् । माटो परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने कृषकहरुको बाध्यता हटेको छ । माटोमा कुन पदार्थ कति छ र माटोमा उर्वराशक्ति बढाउन के गर्नुपर्छ भन्ने जानकारी गराउन पनि माटो परीक्षणले कृषकलाई सहज हुनेछ ।


जिल्लाका कृषकले ल्याएको माटोको नमूना प्रयोगशालामा निःशुल्क परीक्षण गरिने कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए । कृषकले ज्ञान केन्द्रमा आउन नपाएको खण्डमा पालिकाको कृषि शाखाका प्राविधिकमार्फत माटोको नमूना पठाएर पनि माटोको परीक्षण गरिने उनले जानकारी दिए । उनले कृषकले आफ्नोे खेतबारीबाट माटोको नमूना पालिकाको कृषि शाखामा पठाएपछि पालिकाको कृषि शाखामार्फत कर्मचारीले सन्धिखर्कको ज्ञान केन्द्रमा लगेर परीक्षण गरी  पालिकामा पठाइने  जानकारी दिए ।

माटो परीक्षणको नमूना सङ्कलनका लागि तथा कृषकलाई माटो परीक्षणका बारेमा जानकारी दिन जिल्लाका छवटै पालिकामा ११ प्राविधिक खटाइएको ज्ञान केन्द्रका प्रमुख घिमिरेको भनाइ छ । प्राविधिकले पालिकामा नमूना सङ्कलन गरी रिपोर्टसमेत पालिकामा बुझाएर कृषकलाई सहज हुने बताएको छ ।

डिजिटल माटो परीक्षण मिनी ल्याब सञ्चालनमा आएसँगै प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएचलगायत कुन पदार्थ माटोमा कति छ भन्ने जानकारी हुनेछ । माटोको उर्वराशक्ति बचाउन तथा बढाउन र माटोको अम्लीय पदार्थ कति छ भन्ने थाहा हुने भएपछि यसले कृषकहरुलाई सजिलो हुने भएको हो ।