काठमाडौं। आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ। कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बोलाइएको छ।
साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
कोशी प्रदेशसभामा नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (.राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् । सभाध्यक्षमण्डलमा एमालेकी मालती लिम्बू, राप्रपाका अमरबहादुर विष्ट, माओवादीकी गीता तिम्सिना र कांग्रेसका इसराइल मन्सुरी छन् । यसैबीच, आजको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सभाका ज्येष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् ।
सभामुख गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गरेका कारण उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने हो तर उपसभामुख सिर्जना दनुवार पनि सभामा अनुपस्थित हुने सम्भावना देखिएको छ । उपसभामुख अनुपस्थित भए ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था भए पनि एमाले र राप्रपाका आठ जना सदस्य बिदामा बसेका छन् । अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउँदैन ।
सभाध्यक्ष मण्डलकै अर्का सदस्य राप्रपाका अमरबहादुर विष्टले पनि आफूलाई ‘केहीअघि डेंगी लागेको र अहिले घरमै आराम गरिरहेको’ भन्दै सोमबारको बैठकमा अनुपस्थित रहने बताएका छन् । उपसभामुख अनुपस्थित भए सभाध्यक्षमण्डलले बैठक सञ्चालन गर्नुपर्ने अवस्था आउने गठबन्धनका एक सांसदले बताए ।
विश्वासको मत पाउन ४७ सांसदले पक्षमा मतदान गर्नुपर्छ तर प्रदेशसभाको अध्यक्षता सत्ता पक्षले गर्ने हो भने ४६ जनाको मात्रै पक्षमा मतदान हुनेछ । ४६ सांसदले पक्षमा मतदान गरे पनि सरकारले विश्वासको मत पाउँदैन । सरकारले विश्वासको मत नपाए ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउने मौका अवसर पाउने छ ।