यौन दुव्र्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना कैद सजाय



ओखलढुङ्गा । ओखलढुङ्गामा बाल यौन दुव्र्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुव्र्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुव्र्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित ५० हजार क्षतिपूर्ति र  २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले जानकारी दिए ।


गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुव्र्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो ।