काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न नसकिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेँलो हात्तीको संज्ञा दिँदै सामान्य त्रुटि मान्न नसकिने बताएका हुन् ।
उक्त प्रकरणको एक छानबिन प्रतिवेदनमा साधारण हेलचेक्र्याईँले सुन तस्करी भएको खबर पढेको भन्दै उनले त्यति ठूलो पहेँलो हात्ती अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे । मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पट पारे ।
मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरुको हातमा मात्रै हतकडी लगाएर नपुग्ने र टिप्पणी उठाउन आदेशहरु दिनेहरुलाई सलाम ठोक्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए । उनले सरकारको कार्यक्रममा उच्च तहका व्यक्तिहरुको सम्पती छानबिन गर्नुपर्छ भनेर देखाउनका लागि मात्रै लेखिएको नभइ कार्यान्वयन नै हुने स्पष्ट पारे ।
त्यस्तै, मन्त्री गुरुङले आफू अहिले निको भएर काममा फर्किएको भन्दै आफ्नो उपचारमा लाग्ने खर्च सरकारी कोषबाट नलिने बताए ।
आफू मन्त्रालयमा आएपछि कर्मचारीहरुले नै उपचार खर्च लिने विषयमा सल्लाह सुझाव दिएको र गरिब नेपालीहरुलाई निशुल्क उपचार गर्न नसकिएसम्म कुनै उपचार खर्च नलिने स्पष्ट पारेको उनले बताए ।