बाँके । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन् ।
राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ पुलनजिक गए राती करिव ८ः३० बजे नेपालगञ्जदेखि पोखरा जाँदै गरेको ना ६ ख ६३७८ नम्बर बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक सुन्दर तिवारीले बताए ।
उनका अनुसार दुर्घटनामा अन्य दुई राँगा घाइते भएका छन् । बस र बस चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । राँगालाई ठक्कर दिएर सात किलोमिटर अगाडी पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घाइते राँगालाई किसानले घरमा लगेर अहिले पशु चिकित्सक बोलाएर उपचारको तयारी गरेका छन् । मरेका राँगाको क्षतिपूर्तिको लागि इलाका प्रहरी कार्यालयमा बसधनी र किसानबीच छलफल भइरहेको स्थानीयवासी कबिन्द्र परियारले जानकारी दिए ।