नेपालमा १५ खर्ब ३९ अर्ब विदेशी मुद्रा सञ्चित, १० महिनाको वस्तु आयात धान्ने



काठमाडौं । नेपालमा गत आर्थिक वर्षको अन्तिमसम्ममा १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ । मौद्रिक नीतिले ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित राख्ने लक्ष्य लिएको थियो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार मौद्रिक नीतिको लक्ष्य भन्दा बढी विदेशी मुद्रा सञ्चित भएको हो । आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।


गत आर्थिक वर्षको पुससम्म सरकारले आयात नियन्त्रणका लागि एलसीमा नगद मार्जिन लगायतका कडाइ गरेको थियो । आर्थिक वर्षको सुरुमा आयातमा कडाइ र त्यसपछि आर्थिक गतिविधि कमजोर हुँदा आयातमा संकुचित हुँदा गत आर्थिक वर्षमा आयातमा भएको संकुचनले मौद्रिक नीतिको लक्ष्यभन्दा धेरै विदेशी मुद्रा सञ्चित भएको हो ।

रेमिट्यान्समा २१ प्रतिशतले वृद्धि भएर १२ खर्ब नाघेको र आयात १६ प्रतिशतले गिरावट हुँदा शोधनान्तर स्थितिसँगै विदेशी मुद्रा पनि उल्लेख्य रुपमा सञ्चित भएको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबरको विदेशी मुद्रा सञ्चित रहेकोमा २०८० असार मसान्तमा आउँदा २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ ।

२०७९ असार मसान्तसम्मा ९ अर्ब ५४ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्जिच रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको छ । १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकसँग र १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको छ ।

२०८० असार मसान्तको कुल विदेशी मुद्रा सञ्चितीमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०८० असार मसान्तमा विदेशी मुद्रा सञ्चितीको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक वर्ष २०७९/८० मा मासिक औसत एक खर्ब माथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ खर्ब २० अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको हो । यस आवमा अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले विप्रेषण वृद्धि भएको हो ।

यस आवमा वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्याले कीर्तिमान कायम गरेको थियो । सोही अनुसार नेपालीहरुले स्वदेशमा वैधानिक च्यानलबाट रकम पठाउने क्रम समेत वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो वृद्धिदर २.२ प्रतिशत थियो ।

गत आवमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ९७ हजार ७०४ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ रहेको थियो । नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो आवको तुलनामा ४०.३ प्रतिशत धेरै हो । पुनः श्रम स्वीकृति लिनेको संख्या भने १.८ प्रतिशत कम हो ।