नारायणगढ (चितवन) । विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बनेका छन् । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले बजार पाउन नसकेको उनले बताए ।
राप्ती नगरपालिका–७ मा कागतीखेती गर्दै आएका उनी अहिले कागतीमा खटिरे रोग (क्याङ्कर) को समस्या देखिएपछि बजारमा लैजान नपाएको बताउछन्। उत्पादनमा रोगको समस्या देखिएर बजार नपाउँदा भारतीय कागतीले बजार पाएको उनले गुनासोे गरे ।
उनले भने, “कागतीमा क्याङ्करको समस्या आएपछि बिरुवा र फलमा वृद्धि विकास नहुने र उत्पादित फलले बजार नपाउने हुँदोरहेछ ।” यहाँका कागतीमा क्याङ्कर भएपछि बजारमा बिक्री हुन नसकेको भन्दै उनले भारतबाट एक नासका कागती आउने हुँदा यहाँको राम्रो उत्पादनले पनि बजार पाउन नसकेको बताए ।
कालिका नगरपालिका–२ पदमपुरका रामप्रसाद न्यौपानेले आफूले लगाएको कागतीको उत्पादनमा ५० प्रतिशत दानामा क्याङ्करको समस्या देखिएको बताए । विसं २०७५ देखि कागतीखेती गर्दै आएका न्यौपानेले कागतीमा यस्ता खालका समस्या यो समयमा बर्सेनि आउने गरेको बताए । कागतीमा क्याङ्करको समस्याभन्दा पनि बजारको समस्या बढी भएको उनको भनाइ छ । उनले भने, “कागतीमा लागेको रोग त उपचार गरेर निको बनाइएला तर भारतीय कागती नेपाली बजारमा भित्रिएपछि हाम्रो उत्पादन थन्किने समस्या कसरी नियन्त्रण गर्ने ?”
कृषि ज्ञानकेन्द्र चितवनका अनुसार जिल्लामा लगाइएको कागती बालीमा ३० प्रतिशतमा क्याङ्करको सङ्क्रमण देखिएको छ । मौसममा आएको परिवर्तनले क्याङ्कर जीवाणुको सङ्क्रमण भएपछि यो रोग लाग्ने गर्दछ । जिल्लामा लगाइएका प्रायःकागतीमा यो समस्या देखिएको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भरतपुरका बाली संरक्षण विज्ञ रमेशचन्द्र सुवेदीले जिल्लामा लगाइएका कागतीमध्ये उत्पादनको ३० प्रतिशतमा खटिरा रोगको सङ्क्रमण देखिएको बताए । समग्र जिल्लामा लागाइएको बाली हेर्दा खानै नमिल्ने गरी १० प्रतिशत, धरै असर नगरेको १० प्रतिशत र अलिकति असर देखिएको १० प्रतिशत रहेको उनले जानकारी दिए ।
उनले भने, “कृषकले समयमै रोग किरा नियन्त्रणका उपाय अवलम्बन नगर्दा समस्या आएको हो ।” दाना लाग्ने समयमा नै यसको उपचार गर्न सके रोग नियन्त्रणमा आउने उनको भनाइ छ । कृषि ज्ञानकेन्द्रका बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार यस रोगले पात, हाँगा र फलमा आक्रमण गर्ने गर्दछ । यस रोगका कारण फलको गुणस्तरमा कमी आउने उनले बताए । उनले भने, “सुरुमा यो रोगको जीवाणुले सङ्क्रमण गरेपछि पातको तल्लो तहमा साना गोलो उठेको पानीले भिजेको जस्तो दाग देखिन्छ, पछि पुरै बोटलाई यसले असर गर्दछ ।”
यो रोगबाट बच्नका लागि रोगी बोटबाट बिरुवा उत्पादन गर्न नहुने, रोग सहनसक्ने जातका बिरुवा लगाउनुपर्ने, बगैँचामा काम गर्दा बोटलाई चोटपटक दिन नहुने र पातमा सुरुङ बनाउने लिफ माइनर किरालाई नियन्त्रण गर्नुपर्ने उनले जानकारी दिए ।
किराको व्यवस्थापनका लागि लार्भा हातले टिपेर फाल्ने, स्पाइनोसाड ४५ प्रतिशत एससी शून्य दशमलव चार मिलि प्रतिलिटर पानी वा स्पाइनोसाड दुई दशमलव पाँच प्रतिशत एससी एक दशमलव दुई मिलि प्रतिलिटर पानी वा इमामेक्टिन बेनजोएट पाँच प्रतिशत, एसजी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ २–३ पटकसम्म १५ दिनको फरकमा छर्कनुपर्ने उनले बताए ।
जिल्लामा झन्डै २० बिघा क्षेत्रफलमा कागतीखेती गरिएको छ । कालिका नगरपािलका, राप्ती नगरपालिका र माडी क्षेत्रमा विशेष गरी कागतीखेती गरिन्छ । यहाँको उत्पादन चितवनसहित काठमाडौँ, पोखरालगायतका सहरमा जाने गरेको छ ।