पुँजी बजारको समस्या समाधान गर्न धितोपत्र बोर्डको ध्यानाकर्षण



काठमाडौँ । पुँजी बजारमा देखिएको संकट समाधानको माग गर्दै सेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयरबजारमा गम्भीर प्रकारका संकट आउँदा पनि सेबोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएको हो ।


सेयर बजारमा आपूर्तिको मात्र ओइरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरूको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको कोइरालाले बताए ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सिमा तत्काल हटाउन, बैंक तथा वित्तीय संस्थाहरूलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरूको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी व्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुने गरी संस्थागत लगानीकर्ताको सहभागिता अनिवार्य गर्नगराउन पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् ।