चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् । उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गरेका हुन् ।
घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न निर्देशन दिए । उपचारका क्रममा काठमाडौँ पठाउनुपर्ने अवस्था आए मन्त्रालयसँग समन्वय गर्नसमेत उनले निर्देशन दिए ।
उनले भने, ‘मैले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अस्पताल प्रशासनलाई उपचारमा कमी नगर्न र यहाँ सम्भव नहुने भए थप उपचारका लागि काठमाडौँ पठाउन निर्देशन दिएको छु ।’ यहाँ सम्भव नभएका बिरामीको उपचारका क्रममा आफूले सक्दो सहयोग गर्ने मन्त्री जोशीले बताए । रत्ननगरबाट भरतपुरतर्फ आउँदै गरेको ना२च ८४४६ नम्बरको शव बोकेको बोलेरोलाई भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको गैँडाकोटस्थित अक्सफोड कलेजको ना१क ६१३१ नम्बरको बसले ठक्कर दिएको थियो ।
सोही क्रममा चारवटा मोटरसाइकल र दुईवटा स्कुटर एकापसमा ठक्कर खाएका थिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । शव बोकेको बोलेरो, गैँडाकोटस्थित अक्सफोड कलेजको बस, स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।