काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर लगाएर सुन आयात खोल्नुपर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा सभापति देउवाले सुनको आयात खुलाको नीति नहुँदा तस्करी मौलाएको र यसको दीर्घकालीन निराकरण कर लगाएर आयात खोल्नुपर्ने बताएका हुन् ।
बैठकमा सहभागी एक सांसदका अनुसार देउवाले न्यूनतम कर लगाएर सुनको आयात खोल्नुपर्ने बताउदै त्यसो नगरिएमा यो समस्या जहिले पनि रहिरहने बताएका थिए ।
एमालेले सुन तस्करी प्रकरणलाई एजेन्डा बनाएर संसद अवरोध गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएर यस विषयमा छलफल गरेको हो । तीन दिन बसेको काँग्रेसको संसदीय दलको बैठकमा पनि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने माग उठेको छ ।