काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले संसद अवरोध नगरेको दाबी गरेका छन् । यहि साउन १० गतेदेखि संसद अवरोध रहेको प्रसंगमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा पत्रकार सम्मेलन गर्दै आफुहरुले संसद् चलाउन खोजेको दाबी गरेका हुन् ।
उनले सरकारले संसद् चल्न नदिएको आरोप लगाउदै सत्तापक्षले अवरोध गरेको तर्क गरेका छन् । उनले भने- ‘अहिलेको संसदको अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौं । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने ।’
अहिले एमालेले सुन तस्करीको छानविनका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनको कामकारबाहीमा अवरोध गरिरहेको छ ।
ओलीले एमालेलाई देशको चिन्ता बढी रहेको भन्दै मुलुकको अर्थतन्त्र, सुशासन, प्रशासनमाथि प्रहार भइरहेको आरोप लगाए । सरकारले निर्माण व्यवसायीलाई सडकमा आउन बाध्य बनाएको आरोप लगाउदै यसको असर रोजगारीदेखि विकासको काममा गम्भीर असर गरिरहेको बताए ।