बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु



बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेका छन् ।

ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ,“ प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा भनेका छन् । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना सङ्क्रमित अस्पतालमा रहेको बताएका थिए । उनले अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिएका थिए । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ ।


बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् । सङ्क्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको दर “हामीले पहिले कहिल्यै नदेखेको कुरा हो ’ उनले भनेका छन् । बेलायतमा हिजो एक दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ ।

यसै अवधीमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा एक ४६ हजार ४७७ जनाको मृत्यु भएको छ । अझै पनि बेलायतमा सात हजार ३७२ जना अस्पतालमा नै उपचाररत रहेका छन् ।