सुन तस्करी प्रकरणः ठमेलको एक होटल र टोखाको गोदाममा राजश्वको छापा, एकजना पक्राउ



काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।

विभागको टोलीले शनिबार राति होटलमा छामा मारी होटल संचालक बेल्जियमका नागरिक दावा छिरिङलाई नियन्त्रणमा लिएको छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका व्यक्ति भएको बताइएको छ ।


त्यस्तै टोखाको गोदामबाट विभागको टोलीले सुन गाल्ने केही मेसिनसमेत बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान गोदाम प्रयोग गरिएको हुनसक्ने विभागका अधिकारीहरुले आशंका गरेका छन् ।

यो प्रकरणमा अहिलेसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्टसहित १८ जना पक्राउ परेका छन्। यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।