कोशी सरकार विघटन गरी मध्यावधिमा जाउँ : बाबुराम भट्टराई 



काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणका लागि मध्यावधिमा जानु पर्ने धारणा राखेका छन् ।

कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन् ।


‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र?’ उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने।’

अङ्क गणितका आधारमा सरकार निर्माण गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् ।