दाङमा २९८ घरेलु उद्योग बन्द



दाङ। दाङमा आर्थिक वर्ष २०७९/८० मा २ सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ ३ सय २३ साना उद्योग बन्द भएका छन्। बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र  सेवामूलक उद्योग ५६ रहेका छन्। कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको संख्या न्यून भएको उनले बताए।


जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ७ सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए। चालू तथा स्थिर पुँजीतर्फ १ अर्ब ४१ करोड १ लाख रुपैयाँ लगानी भएको छ। यसबाट ६३ लाख ३१ हजार राजस्व संकलन भएको प्रमुख गुरुङले बताए। जिल्लामा हालसम्म ११ हजार ३ सय ८२ घरेलु तथा साना उद्योग रहेका छन्।

विसं २०७९ असार मसान्तसम्म १० हजार ९ सय ३८ र आर्थिक २०७९/८० मा ७ सय ४२ उद्योग थपिएको तथ्यांकले देखाएको छ। एक वर्षको अवधिमा ७ सय १७ उद्योग नवीकरण भएका छन्। ८ सय १२ उद्यमी थपिएका छन्। २ हजार ५ सय ५३ जनाले रोजगार प्राप्त गरेको तथ्यांक छ। उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन्। यसमध्ये ६ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन्। १ सय ८९ उद्योग नवीकरण गरिएको उनले बताए।

कृषि तथा वनजन्य उद्योगमा ४ सय ३२ दर्ता भएका छन्। यसबाट १ हजार १ सय ६८ जनाले रोजगार प्राप्त गरेका छन्। कृषि तथा वनजन्य २ सय १८ उद्योग नवीकरण भएका छन्। पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन्। त्यस्ता उद्योगबाट ४ सय ६५ जनाले रोजगार प्राप्त गरेका छन्। सेवामूलक २ सय ४० उद्योग नवीकरण भएका छन्। वाणिज्यतर्फ ८ सय २७ फर्म दर्ता भएका छन्।

कोभिड–१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन्। उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन्। उद्योगी तथा व्यवसायी विस्थापित भएका छन्।