पर्वत । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् । पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिएका छन् ।
गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ । पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए । स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।
स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ । मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ । पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए ।
मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उनले बताए । विसं २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो । यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए । पहाडबाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समयमा यहाँका नागरिक त्रासदपूर्ण अवस्थामा बस्दै आउनुपरेको छ ।