काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युन नेतृत्वको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेसँग भेट गरेको छ ।
सोमबार सभामुखको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । आइतबार काठमाडौं आएको चिनियाँ प्रतिनिधिमण्डलले आइतबारै माओवादी केन्द्रका नेताहरुसँग भेटवार्ता गरेको थियो । भेटमा दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्धका विविध आयाममा कुराकानी भएको थियो ।
भेटमा माओवादी नेताहरूले नेपालको विकास प्रक्रियामा यसअघि चीनबाट हुँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा विविध क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेका थिए ।
चीनले अख्तियार गरेको समाजवादको मोडल नेपालका लागि पनि अनुकरणीय हुन सक्छ भन्दै माओवादी नेताहरूले नेपालको समाजवादको यात्रामा चीनले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । माओवादी नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार मुलुकको समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसमा चीनको सहयोग महत्वपूर्ण हुने बताएका थिए ।
चिनियाँ प्रतिनिधिमण्डलले नेपालको विकासमा चीनले सहयोग गर्दै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिइने विश्वास दिलाएको नेता शर्माले जानकारी दिए । चिनियाँ पक्षले दुई देशका सरकार, राजनीतिक पार्टी र जनस्तरको सम्बन्ध अझ कसिलो बन्नुपर्नेमा जोड दिएका थिए । यसअघि आइतबारै चिनियाँ नेता च्युनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
सो अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको थियो । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता च्युनबीच भर्चुअल संवाद भएको थियो । यस्तै कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ नेता च्युनले शिष्टाचार भेटवार्ता गरेका थिए ।