महामन्त्रीमा डा महत र पौडेलको उम्मेदवारी



काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि डा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरुले आजै अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

डा महत वर्तमान सहमहामन्त्री हुन् भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुन् । यसअघि नेताहरु मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मालगायतले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता गराउने क्रम जारी छ । मनोनयत दर्ता गराउने समय साँझ ५ बजेसम्मका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।