काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले निर्वाचनमा टिकट पाएपछि आफूलाई हराउन पार्टीकै एउटा समूह हराउन लागेको गुनासो गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेमा जारी केन्द्रीय समिति बैठकमा आइतबार चौधरीले निर्वाचनमा आफूलाई जिताउनेभन्दा पनि कसरी विरोधको वातावरण बनाउने भनेर पार्टीकै केही व्यक्तिहरू लागेको गुनासो गरेका हुन् । उनले यसबारे आफूले पार्टीको अनुशासन आयोगमा प्रमाण पेश गरिसकेको बताए ।
उनले भने, ‘मैले आफ्नो चुनावको अनुभव राख्दा, कस्तो स्थितिको सामना गर्नुपरो भने, मैले टिकट पाउने वित्तिकै त्यहाँ एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अफ्ठ्यारो पार्ने खालका गतिविधि भए । मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्काे विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए । यसका प्रमाणहरु निर्वाचनकै बेला छरपष्ट भइसकेका छन् ।’
चौधरीले पार्टी संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो भने पार्टी पार्टीका रूपमा रहन नसक्ने बताए । उनले अहिले नयाँ–नयाँ पार्टीहरू सलबलाइरहेका र नाम नै नसुनिएका उम्मेदवार उठ्दा पनि हजारौँ भोट पाइरहेको अवस्थामा आफूहरू एकढिक्का हुनुपर्ने बताए । उनले अब रोजगारी सृजना गर्नेतर्फ लाग्नुुपर्ने बताएका छन् ।
उनले भने, ‘अत्यन्तै गम्भीर चुनौतिको विषय रोजगारी सिर्जना नहुनु हो । अहिले पनि दैनिक दुई हजार भन्दाबढी मानिस रोजगारीका लागि विदेशिनु चुनौतिको विषय हो । मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्काे गम्भीर चुनौति हो । जसले नेपालको राजनीति र स्थापित पार्टीप्रतिको दृष्टिकोणमा बदलाव ल्याउन पनि भूमिका खेल्ने गरेको छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’