जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्छ : उपराष्ट्रपति



काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्ने बताएका छन् । 

सङ्घले आज आयोजना गरेको ‘हेमबहादुर मल्ल सम्मान’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक क्षेत्रको नीति–निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा सङ्घले व्यावसायिक पृष्ठपोषण गर्ने गरेकामा खुसी व्यक्त गरे ।


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धनका लागि सबैले भूमिका खेल्नुपर्ने बताए । 

समतामूलक समाज स्थापना गर्न जनअपेक्षाअनुरुपको जनमुखी सेवा प्रभावलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले मुलुकमा सदाचार, इमान्दारी, जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्न सङ्घले थप उत्तरदायित्व बोध गर्नुपर्ने बताए । 

उनले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने महत्त्वपूर्ण व्यक्तित्वहरूलाई सङ्घले गर्दै आएको सम्मान कार्यक्रमको प्रशंसा गरे । 

प्रशासन र व्यवस्थापन क्षेत्रका समसामयिक विषयमा मुलुकलाई दिशानिर्देश गर्न सङ्घ सदैव सक्रिय रहने विश्वास व्यक्त गर्दै उनले मुलुकमा सुशासन कायम गर्न, विधिको शासन सञ्चालन गर्न, जवाफेदेहिता र उत्तरदायित्व अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरण गर्न सङ्घ सधैँ क्रियाशील रहन सकोस् भनी कामना गरे । 

साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यअनुसार सरकारको अनुदानित रासायनिक मलका अतिरिक्त आफ्नैतर्फबाट समेत गैरअनुदानित मल आयात गरी किसानसमक्ष बिक्री वितरण गरिरहेको बताए । 

कर्पोरेसनले गहुँको बीउ प्रशोधन गरी किसानसमक्ष पुर्याउने र सोही बीउबाट उत्पादित गहुँ किसानबाट खरिद गरी मैदा, पिठो उत्पादन गरी सर्वसुलभरूपमा बिक्री वितरण गरिरहेको उनको भनाइ छ ।

उत्पादन र बिक्री–वितरणका क्षेत्रमा नुन, चिनी, पिठो, चामल, तेल, दाललगायतका अतिरिक्त खाना पकाउने एलपी ग्यास, कागजको बिक्री वितरण गर्दै आएको जानकारी दिँदै उनले देशमा आइपर्ने प्राकृतिक प्रकोप एवं विपत्तिको समयमा कर्पोरेसनले अत्यावश्यक वस्तुको नियमित आपूर्तिमा सक्रिय भूमिका खेलेको बताए । 

सम्मानित व्यक्तित्व भानुप्रसाद आचार्यले आर्थिक सुधारको प्रक्रियालाई अवरुद्ध नगरी परिमार्जनसहितका उपायलाई अवलम्बन गरेर निरन्तरता दिइनुपर्ने बताए ।

आन्तरिक उत्पादन, उत्पादकत्व, माग र आपूर्ति बढाउने माध्यम नै आर्थिक क्रियाकलापको वृद्धि हो भन्दै उनले नवीन सूचना प्रविधिको उपयोग र उत्पादन तथा सेवा क्षेत्रको विस्तार गरेर आर्थिक क्रियाकलाप विस्तार गरिनुपर्ने बताए । 

अर्का सम्मानित व्यक्तित्व गोरक्षबहादुर न्हुछें प्रधानले नयाँ पुस्ताले पनि देशको शासनभार ग्रहण गर्न तयार हुनुपर्नेमा जोड दिँदै नयाँ पुस्ताले देश विकासको गतिलाई तीव्र पार्ने विश्वास व्यक्त गरे ।