ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित



झापा । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् ।

नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए ।


नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त आन्दोलन घोषणा गरेको उपाध्यक्ष राईले जानकारी दिए ।

आफ्ना माग बारेमा असार ५ गते नै उद्योगीलाई अवगत गराइएको र साउन १ गतेदेखि आन्दोलन सुरु गरिएको उनले जानकारी दिए ।

उपाध्यक्ष राईका अनुसार श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला रु पाँच सय ७७ पाउने उल्लेख छ तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत चार सय ३७ मात्र दिइरहेका छन् ।

श्रमिक सङ्गठनले नेपाल चिया उत्पादक सङ्घ, साना किसान चिया सहकारी सङ्घ, नेपाल चिया विकास निगम, शुभ चिया उद्योगलगायतका संस्थामा आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आन्दोलनको जानकारी दिएका छन् ।

श्रमिकले चिया बगान तथा प्रतिष्ठानमा एक सातासम्म कालो झण्डा राख्ने र त्यस बेलासम्म पनि मागको सुनुवाइ नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने उपाध्यक्ष राईले बताए ।

श्रम ऐन, २०७४ को दफा १० मा भएको व्यवस्थाबमोजिम सेवा र सुविधा हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा अनिवार्य समावेश गरिनुपर्ने, अनिवार्य श्रम सम्झौता गरिनुपर्ने र महँगी तथा अतिरिक्त कामका आधारमा भत्ता दिइनुपर्ने श्रमिक सङ्गठनको माग रहेको छ ।

झापामा एक सय ३२ वटा साना चिया बगान र ६९ वटा ठूला तथा संस्थागत चिया बगान सञ्चालनमा रहेका छन् । झापामा लगभग दश हजार हेक्टरमा चिया खेती हुने गरेको छ ।