संयुक्त राष्ट्रसङ्घको फोरममा उपाध्यक्ष श्रेष्ठको सम्बोधन



काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उनले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडिसि)को तर्फबाट सम्बोधन गरेका हुन्।

यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत सहभागी भएका थिए । फोरममा विभिन्न देशका मन्त्रिस्तरीय प्रतिनिधिको सहभागिता छ । अल्पविकसित राष्ट्रहरूमा सङ्कटका प्रभाव प्रकास पार्दै अल्पविकसित राष्ट्रमा दिगो विकास लक्ष्यका योजना र कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उनले बताए ।


उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसिलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरे । उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए ।

उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन नेपाली टोली गत असार २८ गते अमेरिकाको न्यूयोर्क पुगेका थिए । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा सङ्घीय सांसद तथा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, सङ्घीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।