अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको क्रेमलिनको घोषणा



क्रेमलिनले ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । सोमबार मध्यरातमा समाप्त हुने सम्झौतालाई उसले दिउँसै त्यसको वास्तविक म्याद समाप्त भइसकेको बताएको छ ।

आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि मस्कोले स्पष्ट गरेको छ । क्रेमलिनको उक्त घोषणा पछि मस्कोले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्याद विस्तारविरुद्धमा सूचना पठाएको रुसी समाचार माध्यमले जनाएका छन् ।


संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको उक्त सम्झौता राम्ररी कार्यान्वयन नभएको अरोप लगाउँदै क्रेमलिनले त्यसलाई पालना नगर्ने धम्की दिएको छ । यसैबीच, अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रूर निर्णय भनेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाइन् । जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ ।