काठमाडौँ । बालुवाटारस्थित ललितनिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहितको बन्दीप्रत्यक्षीकरणको रिटकाे पेसी आज सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको छ ।
यसअघि हिजो पनि उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। तर सुनुवाइ हुन नसकेपछि माथेमा र श्रेष्ठको इजलासले आजलाई पेसी राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रलायका बहालवाला सचिव राउत पक्राउ परेपछि उनका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिइएको थियो ।
यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतमसहितले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरण आदेश किन नहुने भन्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो ।
सर्वोच्चले आज उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने कि रिहाइ गर्ने भन्नेबारे निर्णय सुनाउने छ।