बैंकहरुले आफै निर्धारण गरे ब्याजदर, कुन बैंकले दिँदैछ सबैभन्दा बढी ब्याज?



काठमाडौँ । ब्याजदरमा हुँदै आएको ‘कार्टेलिङ’ खारेज भएपछि बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । असार २८ गते बसेको बैंकर्स संघको बैठकले ब्याजदरको ‘कार्टेलिङ’ खारेज गरेको थियो । योसँगै साउन १ गतेदेखि लागू हुनेगरी बैंकहरूले नयाँ ब्याजदर तोकेका हुन् ।

यसअघि सबै बैंकको एउटै ब्याजदर हुँदै आएकोमा साउन एक गतेदेखि भने फरक फरक हुने भएको छ । केही बैंकले ब्याजदर घटाएका छन् भने केहीले बढाएका छन् । त्यस्तै केही बैंकको ब्याजदर भने स्थिर रहेको छ ।


नबिल बैंकले ब्याजदर बढाएको छ । नबिलले मुद्दतीको अधिकतम ब्याज १०.४९ प्रतिशत पुर्याएको छ । मुद्दती निक्षेपको ब्याजदर १०.९३ प्रतिशत तोकेको छ । एनएमबि बैंकले मुद्दतीको १०.९८ प्रतिशत ब्याजदर दिने भएको छ। कुमारी बैंकले १०.०१ प्रतिशत तोकेको छ । राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले मुद्दती निक्षेपको ब्याजदर ८.९९ प्रतिशत तोकेका छन्।

नेपाल एसबीआई बैंकले ९.१ प्रतिशत, माछापुच्छ्रे र एभरेष्ट बैंकले समान ९ प्रतिशत ब्याजदर कायम गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.९५ प्रतिशतको नयाँ ब्याजदर तोकेको छ।

सिद्धार्थ बैंकले ९.५ प्रतिशत, सानिमा बैंकको ९.५२ ब्याजदर तोकेको छ । यस्तै नेपाल बैंकले ८.९९ प्रतिशत र कृषि विकास बैंकले ९.५१ प्रतिशत ब्याजदर तोकेको छ। हिमालयन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले स्थिर राखेका छन्।