विदेश पलायन हुँदै उद्योगी



चितवन । कोभिड–१९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी धमाधम विदेश पलायन हुन थालेका छन् । कोभिडले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दा समेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरू विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घरबहाल करसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य भएका छन् ।

विगतका वर्षहरूमा व्यवसायमा देखिएको समस्याका कारण यहाँको व्यवसाय छाडेर विदेश जान खोज्ने र जाने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । जिल्लामा रहेर उद्योग व्यवसाय गर्दै आएकाहरू व्यापार व्यवसायमा कमी आए विदेशिन थालेका छन् ।


जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासका सहरमा चलिरहेका व्यवसाय बिक्रीमा राखेको देख्न सकिन्छ भने कतिपयले व्यवसाय छाडेर सटर भाडामा दिन लागेको देख्न पाइन्छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठका अनुसार अहिले सात जना व्यवसायीले व्यवसाय बन्द गरेर विदेश पलायन भएका छन् ।

यहाँको व्यवसाय बन्द गरेर उनीहरु विजनेश भिसामा विदेश पलायन भएको उहाँले बताउनुभयो । अहिले १२ जना उद्योगी व्यवसायीले औपचारिकरूपमा फर्म बन्द गर्नका लागि निवेदन दिएका छन् । सञ्चालनमा आएका उद्योगले समेत आफ्नो उत्पादन र कर्मचारी कटौती गर्दै लगेका छन् । उद्योग वाणिज्य सङ्घका अनुसार सञ्चालनमा आएका उद्योगले समेत ४० प्रतिशतभन्दा बढी उत्पादन गर्न छाडेका छन् ।

क्षमताको ४० प्रतिशतमात्रै उत्पादन गर्दा राज्यलाई कर घाटा र व्यवसायीलाई सञ्चालनमा समस्या पर्दै आएको श्रेष्ठले बताए । उद्योग वाणिज्य सङ्घ चितवनमा दर्ता भएर व्यापार व्यवसाय गर्दै आएका चार हजार सदस्यमध्ये अहिले धेरैको अवस्था दयानीय बन्दै गएको छ । अटोमोबाइल, पोल्ट्री क्षेत्र, कङ्क्रिट उद्योग, खाद्यान्न उद्योग, निर्माण व्यवसायीजस्ता उद्योग प्रत्यक्ष त्यसको मारमा परेका छन् । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल अहिलेसम्म ३० प्रतिशत उद्योग बन्द भएको बताए ।

यो क्रम बढ्दो रहेको उनले जानकारी दिए । सङ्घमा आबद्ध भएका एक हजार दुई सय सदस्यमध्ये ३० प्रतिशत उद्योग बन्द भएको उनको भनाइ छ । उनले भए, ‘उद्योगधन्दा बन्द हुने क्रम बढ्दै छ, नयाँ खुल्ने क्रम न्यून छ’, उनले अगाडि थपे, ‘बैंकको ब्याजदर बढ्नु र आर्थिक तरलताले उद्योग बन्द हुने क्रम अझै बढ्दै जाने देखिन्छ ।’

उद्योगी व्यवसायी उद्योग–व्यवसाय बन्द गरेर विदेशिने क्रमसँगै रोजगारीको अवसर गुम्ने र लाखौँ युवा जनशक्ति विदेशिन बाध्य हुने अवस्था आउने भन्दै उनले यसलाई रोक्नका लागि राज्यको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताए । बैंकहरूले ब्याजदर घटाएर एक अङ्कमा ल्याउनुपर्ने, सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न ध्यान दिनुपर्नेलगायतका काम गर्न जरुरी रहेको उनको भनाइ छ ।