चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) माथि मानव अधिकार उल्लङ्घनको आरोप लागेको छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीले विशेष गरी सिन्जियाङ प्रान्तका उइगुर मुसलमानविरुद्ध जातीय नरसंहारको तयारी गरिरहेको र हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप लाग्ने गरेको छ । यसबाहेक चीनले आफ्ना दमनकारी नीतिलाई विदेशी भूमिमा पनि लागू गर्ने गरेको बताइएको छ ।
आफ्नो शक्तिलाई कायम राख्न कम्युनिष्ट पार्टीले यस्ता दमनकारी नीति लागू गर्ने गरेको र यसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेको विश्लेषकहरु बताउँछन् । हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’ मा लेखकद्वय एन्ड्रयू नाथन र एन्ड्रयू स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने नीतिअनुरुप चीनले मानव अधिकारको हननजस्ता गतिविधि गर्दै आएको उल्लेख गरेका छन् ।
चीनले उइगुर र मुसलमान धर्म मान्नेहरुलाई अतिवादी भन्दै उनीहरुलाई नियन्त्रण गर्न निगरानी उपकरण र अन्य अधिनायकवादी नीति लागू गर्ने गरेको छ । हाल चीनले सिन्जियाङमा स्थापना गरेका बन्दीगृहमा दशौँ लाख उइगुर मुसलमान रहेको र त्यहाँका बन्दीहरुले यातना र मृत्युको समेत सामना गर्नुपरेको बताइएको छ ।
सिपिसीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानवअधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तरराष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
उइगुर मुसमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौँ जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन् ।