जसपा सम्वद्ध ट्रेड युनियनको माग, ‘श्रमिकको न्युनतम ज्याला न्यायोचित हुनुपर्छ’



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्वद्ध समाजवादी ट्रेड युनियन महासंघले श्रमिकको न्युनतम ज्याला न्यायोचित ढंगले निर्धारण हुनुपर्ने माग गरेको छ । प्रत्येक २ वर्षमा श्रमिकको न्यनुतम वेतन पुनरावलोकन गर्ने विषयमा महासंघले उक्त माग राखेको हो ।

नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्युनतम ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासंघले न्युनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने कुरामा जोड दिएको छ ।


महासंघका अध्यक्ष अर्जुन लम्सालले भने, ‘न्युनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय हैन, यो उनीहरुको अधिकारको विषय हो ।’ ट्रेड युनियनहरुले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने बेला भएको समेत लम्सालले बताए ।

समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसपटक श्रमिकहरुको ज्याला निर्धारण गर्दा कम्तिमा २७ हजार हुनुपर्ने महासंघको माग रहेको छ ।