प्रचण्डको स्पष्टीकरण- प्रधानमन्त्री होइन ज्ञानुको बुबा भएर बोलेँ, थोरै भावनामा आएँ



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा प्रष्टिकरण दिएका छन् । 

आज (सोमबार) बसेको बैठकमा उनले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे प्रष्टिकरण दिएका हुन् ।


उनले प्रधानमन्त्रीको नभएर एउटा बुबाको हैसियतले बोलेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’

उनले  प्रितम सिंहसँग राजनीतिक सम्बन्ध नभएको पनि प्रस्ट पारे । उनले भने, ‘मेरो उनी सँगै कुनै नेता अथवा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग मेरो एउटा बिरामी छोरीलाई सङ्कटमा आश्रय र सहयोग गरेकोमा कृतज्ञ बाबुको सम्बन्ध मात्रै हो ।’

यातायात व्यवसायी प्रितम सिंहसँग पारिवारिक सम्बन्ध रहेको बताउँदै प्रचण्डले २०६८/०६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाल क्यान्सर भएपछि दिल्ली पुगेका बेला भएको संवाद आफूले स्मरण गरेको बताए।

उनले आफू भावुक भएर बोलेको बताउँदै थपे, ‘सामाजिक सेवा र यातायात मात्रै होइन, राजनीतिमा समेत रुचि राख्नुहुन्छ भनें। त्यही बेलाको कुरा सम्झें। प्रितमजीले भनेको पनि सम्झें। म भावनात्मक छु नै। यही प्रचण्ड भयो, गर्नुहुन्छ के?’

उनले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधीनकाका लागि गरेको योगदान काटियो ? भन्दै प्रश्न गरे । ‘एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त ?’, प्रचण्डले प्रश्न गरे ।