सियोल । उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ ।
संयुक्त राज्य अमेरिकाले ‘युद्धकालको स्तरभन्दा बढी जासुसी गतिविधिलाई तीव्र पारेको’ उत्तर कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका एक प्रवक्ताले बताएका छन् ।
अमेरिकी जासूसी विमानहरूले यस महिना लगातार आठ दिनमा ‘उत्तेजक’ उडानहरू गरेका छन् । एउटा जासुस विमानले पूर्वी सागरमा उत्तर कोरियाको हवाई क्षेत्रमा ‘धेरै पटक’ घुसपैठ गरेको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् ।
“अमेरिकी वायु सेनाको रणनीतिक जासुस विमान खसाल्ने जस्तो डरलाग्दो दुर्घटना कोरियाको पूर्वी सागरमा हुने छैन भन्ने कुनै ग्यारेन्टी छैन,” प्रवक्ताले कोरियन सेन्ट्रल न्यूज एजेन्सीलाई उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रवक्ताले प्योङयाङले अमेरिकी विमान खसालेको विगतका घटनाहरूको हवाला दिँदै अमेरिकाले आफ्नो हवाई जासुसीको मूल्य चुकाउने चेतावनी दिए ।
वक्तव्यमा कोरियाली प्रायद्वीपमा अमेरिकी रणनीतिक आणविक सम्पत्ति तैनाथ गर्ने योजनालाई उत्तर कोरियाका लागि ‘सबैभन्दा अघोषित आणविक ब्ल्याकमेलिङ’ को संज्ञा दिँदै यसले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।
“अमेरिकी उत्तेजक सैन्य कारबाहीका कारण कोरियाली प्रायद्वीपको अवस्था आणविक द्वन्द्वको संघारमा पुगेको वर्तमान अवस्थाले स्पष्ट रुपमा प्रमाणित गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।
वासिङ्टनले गत अप्रिलमा दक्षिण कोरियाको बन्दरगाहमा दशकौंपछि पहिलो पटक भ्रमण गर्न आणविक हतियारले सुसज्जित ब्यालेस्टिक पनडुब्बी पठाउने घोषणा गरेको थियो ।
उत्तर कोरियाले यस वर्ष आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने र मे महिनामा सैन्य जासुसी उपग्रहलाई कक्षमा स्थापित गर्ने प्रयाससहित धेरै प्रतिबन्धहरू तोड्ने प्रक्षेपणहरू गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले वासिङ्टनसँग प्रतिरक्षा सहकार्यलाई बढावा दिनुभएको छ र उन्नत स्टील्थ जेट र उच्च प्रोफाईल अमेरिकी रणनीतिक सम्पत्तिको साथ संयुक्त सैन्य अभ्यासको आयोजना गरेका छन् ।
उत्तर कोरियाको बढ्दो आणविक र क्षेप्यास्त्र खतराबारे नेटो सदस्य राष्ट्रसँग बलियो सहकार्यको माग गर्दै युन यसै साता लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने उनको कार्यालयले जनाएको छ ।