काठमाडौँ । अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् ।
गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी एलिजाले विहिबार धरान पुगेर सक्रिय राजनीतिबाट बिदा भएको घोषणा गरेकी हुन् । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजाले छोटो समयमा नै नागरिक उन्मुक्ति पार्टी छोड्नुको कारण भने बताएकी छैनन् ।
उनले भनेकी छन्- ‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’
साथै उनले विहिबार नै धरान पुगेर मेयर हर्क साम्पाङको श्रम अभियानमा सहभागी भएकी छन् ।
उनले भनेकी छन्-
धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।
आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।
दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।