वडाध्यक्षले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेकाे भन्दै वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा



कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ । सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा (एमाले) ले वडा कार्यालयमा आज बिहानदेखि तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन् । असार मसान्तमा योजनाको भुक्तानी सिफारिसदेखि विभिन्न कामको चाप हुने समयमा तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका हुन् ।

नेकपा (एमाले) वडा कमिटी ८ र ९ ले संयुक्त रुपमा वडामा तालाबन्दी गरेका हुन् । गत असार १६ गते वडाध्यक्ष गुरुङले खोराकोमुख–उपल्लो इदीखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ ।


पीडित भण्डारीले वडाध्यक्षमाथि कानुनी कारबाहीका लागि सोही दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । वडाध्यक्षमाथि पीडितले कानुनी कारबाहीका लागि प्रशासनमा उजुरी गरे पनि हालसम्म दोषीलाई कारबाही नभएपछि तालाबन्दी गरिएको नेकपा(एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीका अध्यक्ष विक्रम गुरुङले बताए ।

राज्यशक्तिको आडमा वडाध्यक्षले पटकपटक दुर्व्यवहारका घटना घटाउँदा कारबाही नभएको उनको भनाइ छ । वडाध्यक्ष गुरुङले यसअघि गत फागुन दोस्रो साता आफ्नै वडाका कर्मचारीमाथि हातपात गरेको आरोप लागेको थियो । अध्यक्ष गुरुङले भने, “कुटपिटपछि प्रहरीमा निवेदन दिँदासमेत प्रहरीले जाहेरी लिन मानेनन् । दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएर सुरक्षाको प्रत्याभूति नहुँदासम्म तालाबन्दी खुल्दैन ।”

वडाध्यक्ष गुरुङले भने सामान्य भनाभन भएको विषयलाई राजनीतिकरण गरेर उचालिएको बताए । आफूले सडक योजनाको काममा ढिलाइ भएपछि चासो दिए पनि कुटपिट नगरेको उनको दाबी छ । उनले भने, “आर्थिक वर्षको अन्त्यसम्म पनि काम नसकिने देखेपछि चासो दिएको पक्कै हो । बारम्बार ताकेता गर्दा पनि काम भएन । पछि बाहिर सुन्दा आफ्नो मनखुसीले अर्कोलाई ठेक्का दिएको सुने । के भएको भनेर सोधपुछ गरेको हो, कुटपिट गरेको छैन ।”

पीडित भण्डारीले आफू टिपर बनाउन वर्कसपमा रहेका बेला वडाध्यक्ष गुरुङले किन काम समयमै सम्पन्न नगरेको भन्दै एक्कासी हातपात गरेको बताए । आफ्नो ज्यानको असुरक्षा भएकाले आफूले निर्माणस्थलमा पुगेर काम गर्ने वातावरण नभएको उनको भनाइ छ ।