चाँगुनारायण र मध्यपुरद्घारा मेलम्ची र हेलम्बुलाई सहयोग



चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई रु. १० लाख र हेलम्बु गाउँपालिकालाई रु. पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।


नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची जानु भएको छ । त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई रु. २२ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुरयाउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले मेलम्चीलाई रु. ११ लाख ११ हजार १११ र हेलम्बुलाई रु. ११ लाख ११ हजार १११ गरि रु. २२ लाख २२ हजार २२ सहयोग गर्ने निर्णय अनुसार रकम बैँक मार्फत पठाउने उहाँले जानकारी दिनुभयो ।