विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत भएको बताएका छन् । बिहीबार सुरु भएको प्रदेशसभाको तेस्रो अधिवेशनमा सरकारको तर्फबाट बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन् । सो क्रममा संक्षिप्त मन्तव्य दिँदै कार्कीले आफूले अध्यादेशबाट ल्याएको बजेट सविधानको मर्मअनुसार ल्याएको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको पनि बताए । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामकरण गर्नु महत्वपूर्ण उपलब्धी भएको बताउँदै उनले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरे ।
कार्कीले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनुभन्दा ९ दिन अगाडि कोशी प्रदेशभित्र त्यहीबाट अस्थिरताको खेल सुरु भएको बताउँदै उनले सोहीकारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए ।