विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मतको प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा) तटस्थ बस्ने भएको छ । जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले विज्ञप्ति जारी गर्दै प्रदेशको पुनः नामकरण नहुन्जेलसम्म प्रदेशसभामा पक्ष र विपक्षमध्ये कुनै पनि मतदान प्रक्रियामा सहभागी नहुने भन्दै तटस्थ बस्ने निर्णय भएको जनाएका छन् ।
प्रदेशको नामकरण र त्यसविरूद्धको आन्दोलनमा एमालेले निर्वाह गरेको भूमिका र माओवादी र कांग्रेसमाथि विश्वास गर्ने अवस्था नभएकाले तटस्थ बस्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख जनाइएको छ ।
उक्त निर्णयका आधारमा आफू विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाकी प्रदेश सांसद निर्मला लिम्बूले बताएकी छन् । उनी मत विभाजन प्रक्रियामा सहभागी नहुँदा ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४५ मत मात्रै हुने सम्भावना छ ।
केन्द्रीय सत्ता गठबन्धन दलमध्येका कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो ।