गुरु कुट्नेलाई सरकारले संरक्षण गर्‍यो : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको आरोप लगाएका छन् ।

आज काठमाडौँ आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताए ।


त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयतर्फ संकेत गर्दै ओलीले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको बताए ।

उनले भने, ‘सभ्यताको दियो बाल्ने देश, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’

उनले सरकारले त्यस्तैलाई प्रोत्साहन गर्ने गरेको पनि बताए । ‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । विद्यार्थीले प्रोफेसर कुट्न किन नपाइने मज्जाले पाइन्छ भन्छ सरकार । गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार’, ओलीले भने, ‘त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन् । नाम विद्यार्थीको हुन्छ तर ती विद्यार्थी होइनन् । बाहिर सडकका औजार हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्दछ । संस्कृति, शिष्टता र विनम्रता अरूका लागि होइन ।’

अध्यक्ष ओलीले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको उल्लेख गर्दै यसबाट जोगिनुपर्ने बताए ।