एसीसी यू-१६ः थाईल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा 



काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाईलयाण्ड १३ दशमलब २ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो ।


त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । 

थाईल्यान्डका लागि ईसान बेर्नोजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाईल्यान्डका सात खेलाडी शुन्य रनमा आउट भए । 

नेपालका लागि सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए । 

यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपलाले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो । 

नेपालका लागि निरज कुमार यादवले ४३ बलमा ७४ रन बनाए । यस्तै नरेन भट्टले ४३ बलमा अविजित ५५ र सूर्यांशुले ५५ बलमा ४० रन बनाए । 

थाईल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले समान २–२ विकेट लिए तथा जित साद र पियावत नोद्रीले समान १–१ विकेट लिए ।

यो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाईल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । 

प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । 

समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।