दाताको भरमा ७२ वर्ष पुरानो गौशाला



झापा । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकैभरबाट सञ्चालन भएको हो ।

गौशालाको सुरुवात भद्रपुरका भवानीशङ्कर मित्रुका, मुक्तिध्वज जोशी, जनार्दन शर्मा र जगदीश मिण्डाले गर्नुभएको हो । गौशाला व्यवस्थान समितिका अध्यक्ष राजेन्द्रप्रसाद चापागाईंका अनुसार गौशाला सञ्चालनका लागि तत्कालीन समयमा भद्रपुरमा स्व मित्रुकाले २५ बिघा, जोशीले तीन बिघा र शर्माले साढे तीन कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । आठ कठ्ठा जग्गा शर्माबाट खरिद गरिएको थियो ।


सोही जग्गामध्ये भद्रपुर नगरपालिका–५ मा साढे ११ कठ्ठा जग्गामा गौशाला सञ्चालनमा आएको छ । अन्य २० बिघा जमिन ठेक्कामा लगाइएको छ भने बाँकी छ बिघामा गौशाला सार्ने तयारी भइरहेको अध्यक्ष चापागाईँर्ले बताए। गोठमा हाल एक सय १३ उन्नत र स्थानीय जातका गाईबाच्छा छन् । गौशालामा भएका गाईमध्ये शिवसताक्षी धामस्थित गोलक गोवर्द्धनन गौशालाका प्रमुख नन्दकिशोर भारद्वाजको सहयोगमा केही वर्षअघि दिल्लीबाट ल्याइएका उन्नत जातका जर्सी, गीरा, साइबल, हरियाना र इलामे जातका गाई छन् । हाल झापामा दुई गौशाला छन् ।

यिनै गाईको दूधबाट वार्षिक रुपमा गौशालाले रु २४ लाख र गोबर बिक्रीबाट रु छ लाख आम्दानी भइरहेको छ । चापागाईँका अनुसार गौशाला सञ्चालनका लागि वार्षिक रु ७२ लाख खर्च हुने गरेको छ । उनले गाईवस्तुको हेरचाहमा दैनिक १० जना तथा एक पशु चिकित्सकलाई मासिक तलब दिएर राखेको बताए । गाईको दाना, पराल, बिरामी हुँदा उपचार र कर्मचारी खर्चमा वार्षिक रु ७२ लाख खर्च हुने गरेको चापागाईले बताए ।

गोठ आधुनिक खालको छ । हरेक गाईका डुढमा पानीको धारा जडान गरिएको छ । गाईलाई गर्मी र लामखुट्टेबाट जोगाउनका लागि पङ्खाकोसमेत व्यवस्था गरिएको छ । यी सबै संरचना दाताको सहयोगबाट नै बनेको उनको भनाइ छ । “सेवा नै धर्म हो भन्ने हाम्रो अभिप्राय हो”, चापागाईँले भने, “तर खर्चले धान्नै गाह्रो भयो । यहाँबाट हुने आम्दानी भन्दा बढी दाताको सहयोगबाट चलिरहेको छ । सरकारको सहयोग छैन ।”

गौशाला सञ्चालनका लागि वार्षिक रु १८ लाख जगदीश मिण्डाले सहयोग गर्दै आएका छन् । उनी जस्तै अन्य दाताले समेत वर्षेनि रु ५० हजारदेखि रु एक लाखसम्म सहयोग गर्दै आउनुभएको छ । हाल गौशाला सञ्चालनमध्येका जगदीश मिण्डा मात्र जीवित छन् । उनी दैनिकजसो गौशालामा पुग्ने र गाईबस्तुलाई सुसुम्याउने र समस्या बुझ्ने गर्छन् । “गौमाता भनेपछि मरिहत्ते गर्नुहुन्छ”, चापागाईँले भने, “गाईको सेवाका लागि उहाँले वर्षेनि एक्लै रु १८ लाख सहयोग गर्नुहुन्छ ।”

मिण्डाको नेतृत्वमा २०७४ सालमा गौशाला परिसरमा दाताको सहयोगमा सङ्कलन गरिएको रु ८० लाखको लागतमा कृष्ण मन्दिर, आधुनिक गोठ, कार्यालय, सन्त आवासलगायत संरचना निर्माण गरिएका छन् ।

गोठ सार्न समस्या

हाल भद्रपुर नगरपालिका–५ स्थित गाईगोठ साँघुरो भएको चापागाईँले बताए । तस्करले भारततिर लैजाँदै गरेका गाई प्रहरीले पक्रेर ल्याउँदा राख्ने ठाउँको अभाव भएको हुँदा खुल्ला र फराकिलो स्थानमा गोठ सार्न आर्थिक अभाव छ । अध्यक्ष चापागाईँले आगामी आर्थिक वर्षमा भद्रपुर–४ मा छ बिघा जमिनमा गाईको गोठ सार्ने तयारी भइरहेको बताए ।

“हाल ११ कठ्ठा जमिनमा भएको गौशाला साँघुरो हुँदा पराल र गोबर व्यवस्थापनमा समस्या भइरहेको छ” उनले भने । गोठ सार्न करिब रु दुई करोड बढी लाग्ने अनुमान गरिएको छ । “बजेट छैन । गोठ नसारी भएको छैन”, चापागाईँले भने, “स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ ।”