काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताएका हुन् ।
उनले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको बताए । उनले जवान, हवल्दारहरु १९–१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भएको उल्लेख गरे ।
गृहमन्त्री श्रेष्ठले यसलाई सम्बोधन गर्न जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि अवकास दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्न अन्य मन्त्रालयमा प्रस्ताव पठाइसकेको बताए ।