काठमाडौं महानगरपालिकाले ल्यायाे २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेस गरेकी हुन् ।

जस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको छ ।


संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् । महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ । वडाबाट प्राप्त योजनालाई प्राथमिकताप्राप्त योजनामा राखी त्यसका लागि १ अर्ब ७६ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार र स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरेको छ ।