‘राष्ट्रपति र उपराष्ट्रपतिले रोटी-बेटीको नाममा नेपालको भूमि अतिक्रमण गर्न पाइँदैन भनेर बोल्नुपर्छ’



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपति पद खोपाका मूर्ति जस्तो नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले राष्ट्रपति र उपराष्ट्रपति पद खोपाका मूर्ति जस्तो नभएकाले चुप लागेर बस्न नहुने बताएका हुन् ।

उनले संसदलाई छलेर ल्याइएका प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्ने बताए । उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति होइनन् । संसद्लाई छलेर पेस भएका प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्छ । विधेयक संसदबाट पास गरेर ल्याउनु, मलाई अनुरोध गर्ने होइन भनेर भन्न सक्नुपर्छ।’


उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रधानमन्त्री र मन्त्रीहरूको सहभागितामा राजनीततिक दलसँग छलफल गराउनु पर्ने बताए । सांसद सुवालले राष्ट्रपति र उपराष्ट्रपतिले सरकारी कार्यालय र निवासलाई कार्यकर्ता भेटघाटको थलो बनाउन नहुने बताए । उनले संसदलाई सुनेर बजेट संशोधन गराउन पनि सरकारलाई प्रेरित गर्न राष्ट्रपति र उपराष्ट्रपतिले भूमिका खेल्नुपर्ने बताए ।

उनले भारतको नयाँ संसद भवनमा राखिएको मुरालका बारेमा किन नबोलेको भन्दै सरकारलाई राष्ट्रपति र उपराष्ट्रपतिले प्रश्न गर्नुपर्ने बताए । त्यस्तै उनले राष्ट्रपति र उपराष्ट्रपतिले रोटी बेटीको नाममा नेपालको भूमि अतिक्रमण गर्न पाइँदैन भनेर बोल्नुपर्ने बताए ।