काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ ।
जिम्बावेको ताकासिंगा स्पोर्टस् क्लबको मैदानमा जारी खेलमा टस जितेर नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न नेपालले नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब छ । पराजित भएको खण्डमा नेपाल समूह चरणबाट बाहिरिने छ ।
नेपालले यसअघिका तीन खेलमा एकमा जित र दुईमा हार बेहोरेको छ । नेपाल आफ्नो पहिलो खेलमा जिम्बावे र तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो ।
प्रतियोगितामा नेपाल सहित १० टोली प्रतिस्पर्धामा छन् । नेपाल रहेको समूह ‘ए’ मा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन् । समूह ‘बी’ मा ओमान, स्कटल्यान्ड, श्रीलंका, आयरल्यान्ड र यूएई छन् ।
यीमध्ये फाइनलमा पुग्ने दुई टोली १३औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । आठ टोली यसअघि नै छनोट भइसकेका छन् ।