मधेशमा कम बजेट दिएको भन्ने सत्य होइन : प्रधानमन्त्री दाहाल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।

प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरसियाको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।


‘मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ । त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।’