ताप्लेजुङ पहिरो-बेपत्ता भएका ३ जनाको खोजी जारी



फुङ्लिङ । गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरामा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन् ।

उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शुक्रबार राति गएको पहिराले एकै घरका तीन जनासहित चार जनालाई बगाएको थियो ।


जसमध्ये भोलिपल्ट विहान एकजनाको शव भेटिएको थियो । बाँकी एकै घरका तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशराम कार्कीले बताए ।

“अहिले मौसममा केही सुधार भएको छ, बेपत्ताको  खोजीका लागि थप जनशक्ति परिचालन गरेका छौँ”, उनले भने ।

बेपत्ता हुनेमा मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आइतबार बिहान सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ ।

पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो ।

सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । अहिले विराटनगर न्यूरो अस्पतालमा राईको उपचार भइरहेको छ ।