सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधनप्रति दुःख व्यक्ति गर्दै प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो बझाङको बागथलामा सिंह सवार गाडी दुर्घटना हुँदा उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको विषयगत बजेटमाथिको छलफल चलिरहेको थियो । उक्त छलफल भोलि पनि जारी रहनेछ ।


आजको बैठकमा सांसद बलराम अधिकारीले पहुँचका आधारमा बजेट बाँडिएको बताए । पहुँच भएका व्यक्तिको निर्वाचन क्षेत्रका आयोजनामा बजेटको दोहोरोपना देखिएको उनको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रमा सहरी विकाससम्बन्धी कुनै पनि योजना तथा कार्यक्रम बजेटमा नपरेको उल्लेख गर्दै उनले विनियोजन कुशलता र समावेशीताको गम्भीर उपहास भएको धारणा राखे । कोभिड महामारीको समयमा बन्द भएको छोटी भन्सार अझै खुल्न नसकेको विषय पनि उनले उठाए ।

सांसद रामकृष्ण यादवले नागरिकको स्वच्छ खानेपानीको हक सुनिश्चितताका लागि बजेटमा व्यवस्था गरिएको र उक्त कार्यक्रम कार्यान्वयनमा जोड दिए । तराईका जिल्लामा आर्सेनिकयुक्त पानी पिउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सांसद यादवले शुद्ध खानेपानीको व्यवस्थाका लागि माग गरे । त्यस्तै, भूमिगत पानीको स्रोत घट्दै गएकोप्रति पनि उनले ध्यानाकर्षण गरे । हरेक जिल्लाको सदरमुकाममा खानेपानीको ठूलो ट्याङ्की स्थापना गरिनुपर्ने उनको भनाइ छ ।

मधेस क्षेत्रमा भूमिगत पानीको स्रोत सकिएकाले ट्युबवेल सुकेको र अहिले खानेपानीको हाहाकार रहेको विषय सांसद राजकुमार गुप्ताले पनि उठाए । त्यस्तै, नागरिकता विधेयकसम्बन्धी विवाद चाँडै टुङ्ग्याउनुपर्नेमा पनि उनले जोड दिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।