व्यावसायिक कृषिमा आकर्षण



भोजपुर । भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो ।

व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् ।


सरकारको विभिन्न निकाय तथा वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बाँस्तोलाले बताए । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको किसान उनको भनाइ छ ।

‘स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ’, उनले भने, ‘तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु । उत्पादन भएको तरकारी स्थानीय हाटबजारसँगै भोजपुर बजार जाने गरेको छ ।’

वडा कार्यालयले प्राविधिक सहयोगसँगै माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ । आधुनिक प्रविधिअनुसार खेती गर्दा राम्रो उत्पादन हुने किसान बाँस्तोलाले बताए ।

‘खेती गर्छु भनेर मात्र पनि हुन्नरहेछ’, उनले भने, ‘कृषिसम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ । रोग कीराका विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ ।’

वडा कार्यालयले व्यावसायिकरूपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदान सहयोग गर्दै आएको जनाएको छ ।

भौगोलिकरूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने उनको भनाइ छ ।

‘आर्थिकरूपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ’, उनले भने, ‘हामीले यहाँ माटोअनुसारको बालीमा जोड दिएका छौँ । व्यावसायिकरूपमा खेतीमा लागेका किसानको पहिचान गरेर अनुदानको कार्यक्रम सञ्चालन गर्छौँ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ ।’

सीमित बजेटमा पनि यहाँको आवश्यकता पूर्वाधार विकासमा योजनाबद्धरूपमा काम गरिरहेको उनको भनाइ छ । कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष नेपालले जानकारी दिए ।

वडाको बजेटबाहेक अन्य सङ्घसंस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर पनि किसानलाई प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।

‘वडामा आउने बजेट थोरै हुन्छ’, उनले भने, ‘यसले सबैको भावना समेट्न गाह्रो हुन्छ । अन्य निकायसँग हारगुहार गररे पनि विभिन्न कार्यक्रम भित्र्याएर किसानलाई सहयोग गरिरहेका छौँ ।’

यहाँ क्षेत्र उत्पादनका लागि उपयुक्तभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडासदस्य नवीन श्रेष्ठले बताए । कृषि उत्पादनमा जोड दिन माटो परीक्षण गरेर भूगोलअनुसारको बाली लगाउन किसानलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।

‘हामी जनप्रतिनिधिले आफ्नो क्षेत्रको आवश्यकता पहिचान गर्न आवश्यक छ’, उनले भने, ‘वडाको आवश्यताका विषयमा छलफल गरेर बजेटको प्राथमिकीरण गर्दछौँ । यसले वडावासीको मन जित्न हामीलाई सजिलो भएको छ ।’

तरकारी खेतीको लागि प्लाष्टिक पोखरी, प्लाष्टिक टनेल वितरणसँगै उन्नत जातको बीउबिजन पाएपछि सहज भएको स्थानीय किसान महेन्द्र्र रसाइलीले बताए ।

पानीको अभावमा खेती गर्न समस्या भए पनि वडाको सहयोगमा सामूहिक प्लाष्टिक पोखरी निर्माण भए पनि सिँचाइको समस्या नरहेको उनको भनाइ छ ।

सुक्खाग्रस्त क्षेत्र भए पनि प्लाष्टिक टनेलमा पानी जमाएर सिँचाइ गर्न सहज भएको किसान रसाइलीको भनाइ छ । ‘हामीलाई तरकारीसँगै नगदेबालीको लागि सिँचाइको समस्या छैन’, किसान रसाइलीले भने, ‘विगतमा सिँचाइका लागि पानी नहुँदा समस्या थियो । वडाको बजेटमा सामूहिक प्लाष्टिक टनेल निर्माण गरेका छौँ । त्यहीँबाट आवश्यकरूपमा सिँचाइ गछौँ ।’