जसपाको यादव पक्षद्वारा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा पुनः निवेदन



काठमाडौं । पार्टीको आधिकारिकता दावी गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पुनः निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरु शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकता दावी गरेका हुन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै यादव र ठाकुर पक्षले एक अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका थिए । तर त्यसलाई आयोगले मान्यता दिएन ।


यसअघि एकअर्कालाई कारबाही गरेर हटाएको पत्र अद्यावधिक गर्न निर्वाचन आयोगमा दुवै समूहले दिएको भएपनि आयोगले विवादको निरुपण गर्ने गरी आउन आग्रह गरे अनुरुप यादव पक्ष पार्टी विवादको निरुपण गर्नेगरी आधिकारिकताको दाबी गर्दै आयोग पुगेको हो । जसपाको बिहीबार बसेको केन्द्रीय कायएकारिणी समितिको बैठकले आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरुप आधिकारिकताको दाबी गरिएको बताए । उनले भने, ‘ आयोगले भनेअनुसार हामीले अहिले विवाद निरुपणको प्रावधान अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ त्यस अनुरुप नै आधिकारिकता दाबी गरेर आज निवेदन दिएका छौँ ।’

आयोगले यसलाई नियम कानुन अनुसार छिटोभन्दा छिटो प्रक्रिया प्रारम्भ गर्ने प्रतिक्रिया दिएको नेता श्रेष्ठले जानकारी दिए । उनले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा(६) अनुसार आफूहरुको पक्षको बहुमत रहेकाले आधिकारिक पार्टी आफू हुने दावी गरे । यसअघि कानुन व्यवायीहरुले पनि यादव पक्षलाई आयोगमा आधिकारिता दावी गर्न सुझाव दिएका थिए ।