समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बिहान बसेको पार्टीको सचिवालय बैठकले माओवादीसहितले घोषणा गर्न लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए ।


उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने बताए ।

संसद् र संसदबाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवा सुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको उनको भनाई थियो ।

समाजवादी मोर्चामा अहिलेसम्म नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने भएका छन् ।