विपद् व्यवस्थापनका लागि दक्ष सुरक्षा जनशक्तिमा उल्लेख्य वृद्धि



काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायतका कार्यमा खटिने दक्ष सुरक्षा जनशक्तिमा उल्लेख्य वृद्धि गरिएको छ । गत वर्ष विपद् व्यवस्थापनका लागि एक हजार चार सय ८४ जना दक्ष जनशक्ति रहेकामा यसपालि बढाएर ११ हजार छ सय ६३ पुर्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि नेपाली सेनाबाट सात हजार छ सय ३६ जना सुरक्षा जनशक्ति विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको छ ।

यस्तै नेपाल प्रहरीका दुई हजार एक सय २५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार नौ सय तीन जनशक्ति विपद् व्यवस्थापनकै लागि तयार पारिएको जनाइएको छ । यसमा सशस्त्र प्रहरीको गोताखोरमात्रै ७४ जना छन् । यद्यपि विपद्को अवस्थाअनुसार भने जनशक्ति थपघट हुनेछ ।


प्रहरीहरु भने हरेक जिल्लाबाट आ–आफ्नै तरिकाले परिचालन हुने भए पनि विशेषरूपमा विपद्लाई नै केन्द्रित गरेर दक्ष सुरक्षा जनशक्ति तयार पारिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

अन्य लाखौँ सुरक्षाकर्मीहरू ठाउँ–ठाउँमा खटिने छन्, यो ११ हजार जनशक्ति भनेको विपद्सम्बन्धी नै तालिम लिएर दक्ष बनाइएका जनशक्ति हुन् । यसपालि नेपालमा पूर्वबाट मनसुन प्रवेश भइसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसपटकको मनसुनमा औषतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।

प्राधिकरणले यसपालि विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुने अनुमान गरेको छ । सोहीअनुसार मनसुन प्रतिकार्य कार्ययोजना बनाएर कार्यान्वयन गरिएको छ ।